स्क्रिनको कृत्रिम हाँसो र रित्तिँदै गएको मन ।
आर.आर हरिकृष्ण जोशी अभाव र प्रगतिको यो आधुनिक दौडधुपमा हामी बाहिरबाट जति सुखी र खुसी देखिने कृत्रिम प्रयास गरिरहेका छौँ भित्रभित्रै त्यति नै एक्लो, अशान्त र मानसिक तनावको गहिरो दलदलमा भासिँदै गएका छौँ । अनौठो त के छ भने, हातहरूमा भौतिक सुख–सुविधा र विलासिताका नयाँ–नयाँ साधनहरू थपिँदै जाँदा पनि मनको त्यो पुरानो सन्तोष, शान्ति र निश्चल हाँसो बिस्तारै गुम्दै गएको छ । आखिर किन हामीहरु आफूसँग भएका अथाहा र अमूल्य खुसीहरूलाई चटक्कै बिर्सिएर निरन्तर निराशाको अँध्यारो कोठामा खुम्चँदै गइरहेका छौँ त ? मनोवैज्ञानिकहरूका अनुसार मानिसको दुःखको सबैभन्दा ठूलो कारण नै अरु संग तुलना गर्ने बानी हो । हामी अरूको प्रगतिको चम्किलो र सानदार ग्राफ हेरेर आफ्नो जीवनको सुन्दर बोटलाई आफैँ ओइल्याइरहेका छौँ । विशेषगरी आजको यो भर्चुअल र डिजिटल युगमा त यो समस्या झनै भयावह र पीडादायी बनेर आएको छ । हामी सामाजिक सञ्जालको स्क्रिनमा अरूले पोस्ट गरेका उज्याला, छानिएका र रङ्गीन तस्बिरहरू हेर्छौँ र त्यसकै आधारमा आफ्नो जिन्दगीको भोगाईहरुलाई जोख्न थाल्छौ । कसैको महँगो गाडी, कसैको रोमान्टिक घुमफिर त कसैको सुखी परिवार...