जीवनको बिरालो र मोहको जञ्जाल

               


आर. आर हरिकृष्ण जोशी 

एकजना वृद्ध तपस्वी संसारका सम्पूर्ण सुख, सम्बन्ध र मोह त्यागेर वनबास गएका थिए । उनको उद्देश्य केवल ईश्वरको चिन्तन र आत्मशान्ति प्राप्त गर्नु थियो तर आश्रममा मुसाहरूले दुःख दिन थालेपछि उनले मुसा धपाउन एउटा बिरालो पाले । बिरालोलाई दूधको आवश्यकता परेपछि उनले एउटा गाई ल्याए । गाई त आयो तर त्यसको गोठधन्दा र स्याहारसुसार गर्ने झन्झट थपियो । वृद्धले गाई पालेपछि गाउँलेहरूलाई अर्कै चिन्ताले सतायो भोलि वृद्ध तपस्वी बिरामी भएको खण्डमा गाईको स्याहार कसले गर्छ ? गाईको स्याहार नभएपछि गाई मर्छ र त्यसको पाप हामीले भोग्नु पर्दछ र यस्तो पाप हामीले भोग्नुहुदैन भनेर गाउँलेहरूले ती वृद्ध तपस्वीको गाउँकै एक एकल महिलासँग लगनगाँठो कसिदिए । अनि त के थियो र ? केही वर्षपछि वृद्ध संन्यासी आश्रममै लालाबालाको पिता बने । समयक्रममा उनी मरणासन्न अवस्थामा पुगे । गाउँलेहरूले बिदा हुने बेला आफूहरूलाई केही दिव्योपदेश दिन आग्रह गर्दा उनले भने ‘सबैथोक गर्नु  तर बुढेसकालमा बिरालो झुक्किएर पनि नपाल्नु । त्यही बिरालो पाल्ने रहरले  म पारिवारिक जञ्जालमा फसें । यति भनेर वृद्ध यो लोकबाट बिदा भए ।

यो केवल एकादेशको कथा मात्र होइन,बरु हामीहरुको आदिम कमजोरी, अनियन्त्रित चाहना र नियतिको एउटा बडो सुन्दर तर निर्मम ऐना हो । हामी संसार जित्ने, मुक्त हुने वा शान्ति पाउने महत्वकांक्षा बोकेर हिँड्छौँ तर बाटोमा भेटिने साना–साना बिरालाहरू मा अलमलिँदा अलमलिँदै सिङ्गो जीवनको मूल उद्देश्य नै कतिखेर गुमाउछौ त्यो पत्तै पाउँदैनौँ । संन्यास लिएर, संसारलाई पिठ्युँ फर्काएर वन पसेका वृद्ध सन्यासी को नियतिले हाम्रो मनको कमजोरीलाई बडो मार्मिक रूपमा उजागर गरीदीएको छ ।

हाम्रो मन पनि अनौठो छ, यसलाई सधैँ केही न केही आड भरोसा चाहिन्छ । मुसाको उपद्रो त एउटा बहाना मात्र थियो सायद ती वृद्धको भित्री मन कतै न कतै एक्लोपनसँग डराएको थियो । एउटा सानो बिरालोलाई आश्रममा स्थान दिनु सुरुमा कति निर्दोष र सामान्य लागेको थियो होला तर, इच्छा र आवश्यकताको स्वभाव नै यस्तै हुन्छ यो कहिल्यै एक्लै आउँदैन । बिरालोलाई बचाउन गाई आयो, गाईलाई जोगाउन श्रीमती आइन् र बिस्तारै संन्यासको त्यो पवित्र, सुनसान र शान्त आश्रम कोलाहलले भरिएको एउटा नयाँ संसार बन्यो । मानिसले सोच्छ, ऊ साधनको मालिक बनिरहेको छ, तर समयको कुनै मोडमा पुगेपछि मात्र थाहा हुन्छ साधनले त उसलाई कहिल्यै उम्किन नमिल्ने गरी आफ्नो दास बनाइसकेको हुदोरहेछ ।

कति विडम्बनापूर्ण छ जीवन! मानिस जुन कोलाहल, जुन जिम्मेवारी र जुन बन्धनबाट थाकेर एकान्तको खोजीमा निस्कन्छ, उही संसार अनेकौँ रूप र बहाना बदल्दै फेरि उसकै अगाडि आइपुग्छ । कहिलेकाहीँ त अरूको हित सोच्ने समाज नै हाम्रो बन्धनको बलियो साङ्लो बनिदिन्छ । गाउँलेहरूले पुण्य कमाउने र परोपकार गर्ने पवित्र भावनाले नै ती वृद्ध तपस्वीको विवाह गरिदिएका थिए । तर उनीहरूको त्यही भलो गर्ने चाहनाले एउटा साधकको तपस्यालाई सधैँका लागि भङ्ग गरिदियो । समाजले अक्सर आफ्नो परिभाषाको सुख र सुरक्षा अरूमाथि थोपर्न खोज्छ, जसले व्यक्तिको स्वतन्त्र आकाशलाई सङ्कुचित बनाउँदै लैजान्छ ।

मृत्युको सङ्घारमा उभिएका तपस्वी वृद्धको त्यो अन्तिम आँसु र पश्चात्तापले मुटु छुन्छ । जीवनभरिको साधना बालुवामा पानी खन्याएझैँ भएको महसुस गर्दा उनको आत्मा कति छटपटाएको थियो होला । उनीसँग गाउँलेलाई दिनका लागि कुनै ठूलो आध्यात्मिक प्रवचन थिएन, न त कुनै दर्शन नै थियो । उनले त केवल आफ्नै जीवनको गल्तीबाट जन्मिएको एउटा तीतो सत्य ओकले बुढेसकालमा बिरालो झुक्किएर पनि नपाल्नु यो वाक्य सुन्दा जति सरल लाग्छ, यसको भित्री मर्म त्यति नै गहिरो र कारुणिक छ । यो कुनै बिरालोप्रतिको रिस थिएन, बरु मानिसको भित्री मोह, आशक्ति र तृष्णाप्रतिको एउटा ठूलो धिक्कार थियो । 

हामीहरु प्रत्येकको जीवनमा आज अनेकौँ बिरालाहरू पालिरहेका छौँ । कसैले भौतिक सुखको बिरालो पालेका छौँ, कसैले सम्बन्धहरूको त कसैले अहङ्कार र तृष्णाको । हामी सोच्छौँ यी साना कुराहरूले के नै फरक पार्छन्र ? तर, यिनै साना कुराहरू बिस्तारै हाम्रो जीवनको केन्द्र बन्न पुग्छन् र हामीलाई आफ्नै इच्छाको कैदी बनाइदिन्छन् ।

यो कथाले हामीलाई एउटै कुरा सिकाउँछ— जीवनको अन्तिम क्षणमा पुग्नुअघि नै आफ्ना बिरालाहरू पहिचान गर्न सकिएन भने, बिदा हुने बेलामा पश्चात्ताप र आँसुबाहेक केही बाँकी रहने छैन । वास्तविक स्वतन्त्रता संसार थुपार्नुमा होइन, बरु समयमै अनावश्यक मोह र बन्धनहरूलाई त्यागेर हलुका बन्न सक्नुमा नै आनन्द छ जिबन ।


Comments

Popular posts from this blog

अहंकारको मूल्य र प्रकृतिको न्याय

जे हुन्छ राम्रो को लागी हुन्छ ।

विकल्प होइन समर्थक बन्छन मात्रै राम्रो काम गर्नुस ।