खुसी कुनै गन्तव्य होइन, यो त एउटा दृष्टिकोण हो ।

 आर.आर हरिकृष्ण जोशी

जीवनको दौडमा दौडिँदा दौडिँदै हामी कतिबेला आफ्नै खुसीहरूलाई भुलेर चिन्ताको भारी बोक्न पुग्छौँ पत्तै पाउदैनौ । आजको आधुनिक समाज बाहिरबाट जति चम्किलो र सुविधायुक्त देखिन्छ भित्रभित्रै त्यति नै संवेदनाशून्य र आफैंमा हराएको जस्तो बन्दै गइरहेको छ । भौतिक रूपमा हामी संसारका सबैसँग जोडिएका त छौँ तर मानसिक रूपमा भने एकदमै एक्लो र मरुभूमि जस्तै रित्तो महसुस गरिरहेका छौँ । यही एक्लोपन र दौडधुपको बीचमा मानसिक तनाव, डिप्रेसन र म कतै पछि परेँ कि भन्ने डर (FOMO – Fear of Missing Out) एउटा यस्तो अदृश्य महामारी बनेको छ जसले मानिसको मनलाई भित्रभित्रै धमिराले जस्तै खाइरहेको छ । राम्रो जागिर, अथाहा पैसा, अनि अग्ला महल र गाडीको खोजीमा हामी दिनरात मेसिन जस्तै दौडिरहेका छौँ तर यो अन्तहीन यात्राको सबैभन्दा दुःखद पाटो के हो भने हामी आफूसँग मुस्कुराइरहेका अनमोल खुसीहरूको कदर गर्न भुल्छौँ र जे गुमेको छ वा जे प्राप्त छैन, उसैको न्यास्रोमा अमूल्य जिन्दगी खेर गईरहेको छ ।
हाम्रो छटपटिको मुख्य जड तुलना हो । सामाजिक सञ्जालमा देखिने अरूको बनावटी चमकधमक वा कसैको प्रगति देख्दा हामी भित्रभित्रै आफूलाई कमजोर महसुस गर्न थाल्छौँ । हामी अक्सर सोच्छौँ कि संसारका सबै मानिसहरू खुसी र समृद्ध छन्, मात्र मेरै जीवनमा समस्याको पहाड खसेको छ तर यो त केवल हाम्रो हेराइको भ्रम हो । सत्य त के हो भने—पर्दा बाहिर हाँसिरहेको देखिने हरेक मानिसहरुको भित्री संसारमा एउटा आफ्नै युद्ध चलिरहेको हुन्छ, जहाँ देखिने मुस्कानभित्र कतिपय आँसु र नलेखिएका पीडाका कथाहरू गुम्सिएर बसेका हुन्छन् । कसैलाई पैसाको अभाव होला, कसैलाई स्वास्थ्यको त कसैलाई सम्बन्धको । यो संसारमा कोही पनि पूर्ण रूपमा सुखी छैन ।
 जब हामी आफ्नो दृष्टिकोणलाई अलिकति फराकिलो बनाएर संसारलाई हेर्छौँ तब मात्र हामीले आफ्नो वास्तविक हैसियत र भाग्य बुझ्न सक्छौँ । बिहान आँखा खोल्दा संसार देख्न पाउनु, आफैं हिँडेर शौचालयसम्म जान सक्नु, भोक लाग्दा खान पाउनु र दुख–सुख साट्नका लागि एउटा परिवार साथमा हुनु यी कुनै साधारण कुरा होइनन् । जीवनको वास्तविक र मार्मिक यथार्थलाई बुज्न अस्पतालका वार्डहरू, सडकका पेटीहरू र श्रमजीवीका झुपडीहरू भन्दा ठुलो ऐना अरू हुन सक्दैन । हामी जब आफ्नो जीवनमा म पछि परेँ कि भनेर सानो कुरामा पिरोलिन्छौँ तब यी दृश्यहरूले हामीलाई जिन्दगीको असली परिभाषा र मूल्य सिकाउँछन् ।
अस्पतालका वार्डहरू, सडकका पेटीहरू र श्रमजीवीका झुपडीहरूका मानिसहरूलाई हेर्ने हो भने हामीले महसुस गर्नेछौँ कि हामी वास्तवमा कति धेरै भाग्यशाली छौँ। हामीसँग भएका यी अमूल्य उपहारहरूलाई हामी निःशुल्क पाएकाले सित्तैंको ठानेर वास्ता गर्दैनौँ तर संसारमा लाखौँ मानिसहरू यिनै कुराका लागि तड्पिरहेका छन् । त्यसैले, जीवनलाई सहज बनाउने एउटै मात्र अचुक उपाय भनेको कृतज्ञता हो । हरेक दिन बिहान उठेर आफूसँग भएका सकारात्मक कुराहरूको सूची सम्झने र त्यसका लागि धन्यवाद दिने बानी बसाल्नुपर्छ । भविष्यको अत्याधिक चिन्ता र विगतको पश्चात्तापले आजको सुन्दर दिनलाई बर्बाद गर्नु मूर्खता मात्र हो । समस्या र जिम्मेवारीहरू जीवनका अभिन्न अङ्ग हुन्, यिनीहरू कहिल्यै सकिँदैनन् तर तिनै समस्याका बीचमा पनि हाँस्न सक्नु र साना–साना कुरामा खुसी भेटाउन सक्नु नै जीवन जिउने असली कला हो । 
अन्ततः खुसी कुनै टाढाको गन्तव्य, भव्य महल वा बैंक ब्यालेन्सको निर्जीव अङ्क होइन यो त केवल हाम्रो मनको एउटा सुन्दर छनोट र जिन्दगीलाई हेर्ने नजर मात्र हो । जीवनको यो घुमाउरो बाटोमा हिँड्दा आइपर्ने साना–तिना हन्डरठेस र दुःखका आँधीहरूसँग डराएर पाइलाहरू रोक्नु हुँदैन। बरु मनको आँगनमा जस्तोसुकै चिन्ताको बादल मडारिए पनि केही कुराहरूलाई प्रगाढ मुस्कानले अंगाल्ने र केही बिझाउने कुराहरूलाई हाँसेरै टारिदिने एउटा मीठो बानी बसालौँ । यो छोटो र सुन्दर जीवनमा आफू पनि खुसीसाथ बाँचौँ निराश भएका अरू मनहरूलाई पनि खुशी साथ बाच्न प्रेरीत गरौ र आसाको दियो बालौँ । आखिर, रित्तो हात आएर रित्तै हात जानु नै प्रकृतिको शाश्वत नियम हो भने, आफूसँग आज जे जति छ त्यसैलाई हार्दिकताका साथ प्रेम गरौँ, कदर गरौँ र ओठमा सधैँ मुस्कान सजाएर जीवनको यो अनमोल यात्रालाई उत्सव जस्तै गरी तय गरौँ ।

Comments

Popular posts from this blog

लघुवित्तको अबको बाटो इम्प्याक्टफुल बिजनेस ।

जीवनको बिरालो र मोहको जञ्जाल

अहंकारको मूल्य र प्रकृतिको न्याय