सेतो फलामे चरा र छोराको निर्दोष आँखा
आर आर हरिकृष्ण जोशी
नीलो आकाशको छाती चिर्दै सुस्तरी अघि
बढिरहेको त्यो सेतो फलामे चरालाई देखाउँदै जब छोराले आफ्नो अबोध स्वरमा सोध्यो
बाबा त्यो प्लेनमा बस्ने, उड्नेहरू त सबै धनी
होलान् है <
उसको यो निर्दोष प्रश्नले मेरा ओठहरू
अचानक निशब्द भए र मनको कुनै कुनामा
एउटा गहिरो भावुकता पग्लिएर आयो । क्षितिजमा बिलाउन लागेको त्यो जहाज जस्तै मेरो मन पनि कता कता हराउन पुग्यो । उसका ती कलिला आँखामा आकाश छुने रहर त
थियो तर भुइँको कठोर यथार्थ र जीवनका बाटाहरू
बुझ्न अझै धेरै बाँकी छ ।
मैले उसलाई आफ्नो नजिकै तानेर टाउको सुमसुमाय
र आकाशतिरै हेर्दै अत्यन्तै मधुर स्वरमा भने होइन बाबु, त्यो बादलमाथि उड्ने सबै मानिस धनी हुँदैनन् । मेरो कुरा सुनेर उसले अचम्म मान्दै
आफ्ना ठूला ठूला आँखा मतिर
फर्कायो । सायद उसको बालमस्तिष्कले
सोच्दै थियो कि त्यति भव्य र सुन्दर साधनमा यात्रा गर्नेहरू कसरी गरिब हुन सक्छन्
र <
मैले उसको साना हातहरूलाई आफ्ना हत्केलामा
बेर्दै अगाडि थपे बाबु, त्यो जहाजभित्र बस्ने
कतिपय मानिसहरू त आफ्नो गाउँघर, बिरामी बुढा बाबु आमा
र तिमीजस्तै मुटुका टुक्रा जस्ता छोराछोरीलाई चटक्क छोडेर, आँखाभरि आँसु र मनभरि ऋणको भारी बोकेर परदेश कमाउन गइरहेका हुन् । उनीहरूको शरीर त उचाइमा उडिरहेको छ, तर उनीहरूको मन र साँचो खुसी यही भुइँमा, आफ्नै आँगनमा छटपटाइरहेको छ केवल आफ्ना प्रियजनको अनुहारमा एउटा सुन्दर
मुस्कान सजाउने चाहनामा उनीहरूले यो बाध्यताको उडान भरिरहेका छन् । त्यसैले बाहिरको यो चमकले मात्रै
मानिसको भित्री समृद्धिको गहिराइ नाप्न सकिँदैन बाबु ।
पैसा हुनु र वास्तविक रूपमा धनी हुनुमा
एउटा ठूलो अन्तर छ । संसारमा कतिपय मानिस
यस्ता पनि हुन्छन् जोसँग अथाहा धन र ऐश्वर्य त छ, तर उनीहरूको मनभित्र साँचो सुख र शान्तिको सधैँ खडेरी परिरहेको हुन्छ । साँचो धनी त त्यो हो बाबु, जसले दिनभरि पसिना बगाएर साँझ आफ्नो घर फर्किँदा परिवारसँग हाँसेर सुख्खा रोटी
पनि अमृतसरी बाँडेर खान सक्छ । जसको मनमा कसैलाई दुखाउने छलछाम गर्ने मनासाय हुँदैन, जसले राति सिरानीमा टाउको
राख्दा ढुक्कसँग निदाउन सक्छ र जसको मनमा अरूको दुःख देख्दा दया पलाउँछ, वास्तवमा यो धर्तीको सबैभन्दा धनी मानिस त्यही नै हो ।
संसार अनौठो छ बाबु, टाढैबाट हेर्दा चम्किलो देखिने कतिपय चिजहरू भित्रभित्रै निभिरहेका हुन्छन् । वायुपङ्खी घोडा चढेर हिँड्दैमा कसैको
जिन्दगी सुखी हुँदैन । ती सिसाका महलहरू र चिल्ला गाडीहरू भित्र कति आँसु र शून्यता लुकेको हुन्छ, त्यो बाहिरबाट देखिँदैन ।
त्यसैले, यो आकाशमा उड्ने फलामे चराको चमक हेरेर तिमी कहिल्यै नझुक्किनु । असली धनी
त्यो होइन जसको बैंकको खाता भरिएको छ, चिल्ला गाडीमा चढेर
हिडछन बल्कि असली धनी त त्यो हो जसको मन
सन्तोषले भरिएको छ , घरको सानै चुल्होमा पनि प्रेम पाक्छ, एकअर्काको आँसु बुझ्न सक्छन र मनमा कसैप्रति रिस राग हुदैन तबसम्म यो संसारकै सबैभन्दा
धनी र सुखी मानिस तिनै हुन बाबु । बाहिरी सम्पन्नता त पानीको फोका जस्तै हो, भित्री शून्यतालाई मेटाउने साँचो धन त केवल प्रेम र सन्तोष नै हो ।
मेरा कुरा सुनेर छोराले एकछिन टोलाउँदै
आकाशतिर हेर्यो अनि मेरा गालामा आफ्ना साना हात राखेर मुस्कुराउँदै भन्यो बाबा, त्यसोभए मलाई त्यो प्लेनमा चढ्नु छैन । म त हजुरसँगै यही भुइँमै बस्छु । म ठूलो भएर धेरै पैसा कमाउने होइन बाबा, एउटा असल मानिस बन्छु ।
उसको यो सादा र मिठो कुराले मेरो मन
जुरुक्क भयोm। आकाशको त्यो जहाज त कता हो
कता बिलाइसकेको थियो, तर मेरो अगाडि मेरो
छोराकै रूपमा मेरो संसार मुस्कुराइरहेको थियो ।

Comments
Post a Comment