हामी समस्याले होइन,आफनै सोचाइले धेरै थाकिरहेका छौँ ।
आर.आर हरिकृष्ण जोशी आजको नेपाली समाजमा धेरै मानिसहरु कुनै ठूलो समस्याका कारण मात्र तनावमा छैनन् । उनीहरू आफ्नै मनभित्र चलिरहेको निरन्तर संवादका कारण थाकिरहेका छन् । जागिर पाइएला कि नपाइएला, व्यवसाय चल्ला कि नचल्ला, छोराछोरीले राम्रो गर्लान् कि नगर्लान्, समाजले के भन्ला, अरू म भन्दा अगाडि किन पुगे यस्ता अनगिन्ती प्रश्न हरुले हाम्रो मानसिक शान्ति विस्तारै खोसिरहेको छ त्यसैका कारण हामीहरुले समस्या आउनुअघि नै अनाबश्यक पीडा भोगिरहेका छौँ । हाम्रो सबैभन्दा ठूलो विडम्बना के छ भने हामी सोच्नुलाई नै समाधान ठानिरहेका छौँ । एउटै कुरा पटक–पटक सोच्दा त्यसको उत्तर नजिक पुगिन्छ भन्ने भ्रममा हुन्छौँ तर सोचाइले जब दिशा गुमाउँछ, त्यही सोचाइ चिन्तामा बदलिन्छ । चिन्ताले सम्भावनाभन्दा खतरा बढी देख्छ, तथ्यभन्दा अनुमानमा बढी विश्वास गर्छ र वास्तविक समस्याभन्दा कल्पनालाई ठूलो बनाउँछ । कहिलेकाहीँ घटना सानो हुन्छ, तर त्यसको वरिपरि हामीले बनाएको कथा निकै ठूलो हुन्छ । कसैले फोन गरेन भने हामी सोच्न थाल्छौँ सायद ऊ मसँग रिसाएको छ। कसैले हाम्रो कामको आलोचना गर्यो भन...