अन्तिम सत्यःहामी यहाँ सधैँका लागि होइनौ ।

आर.आर हरिकृष्ण जोशी  
 मानिस जन्मन्छ, हुर्कन्छ, सपना देख्छ, संघर्ष गर्छ, केही कमाउँछ, केही बनाउँछ र अन्ततः एक दिन यो संसार छोडेर जान्छ । यो कुरा हामी सबैलाई थाहा छ तर अचम्म के छ भने, जीवनको सबैभन्दा निश्चित सत्य यही भए पनि हामी मृत्युबारे कुरा गर्न चाहँदैनौ । मृत्युको नाम लिनासाथ वातावरण गम्भीर हुन्छ। मानौ मृत्यु हाम्रो जीवनको हिस्सा होइन, जीवनभन्दा बाहिरको कुनै कुरा हो।

जब मानिसलाई आफू मर्ने कुरा थाहा हुन्छ त्यसैले ऊ आफ्नो अस्तित्वलाई कुनै न कुनै रूपमा आफूभन्दा लामो बनाउन खोज्छ । कसैले सम्पत्ति जोड्छ, कसैले नाम कमाउँछ, कसैले पद र प्रतिष्ठा खोज्छ, कसैले आफ्ना छोराछोरीको सफलतामा आफ्नो निरन्तरता देख्छ । मानिसको यो चाहना अस्वाभाविक होइन तर कहिलेकाही यही चाहनाले जीवनको वास्तविक आनन्दलाई पछाडि धकेलिदिन्छ ।

हाम्रो गाउँघरमा हेर्ने हो भने एउटा पुस्ताले जीवनभर दुःख गरेर घर बनाउँछ । खेतमा पसिना बगाउँछ, छोराछोरी पढाउँछ, उनीहरूको भविष्य राम्रो होस् भनेर आफ्ना धेरै इच्छा त्याग्छ । बुढेसकालमा पुग्दा उसको सबैभन्दा ठूलो सम्पत्ति त्यही घर र परिवार हुन्छ तर अर्को पुस्ता फेरि त्यही घर छोडेर शहर वा विदेशतिर लाग्छ । राम्रो अवसर खोज्नु गलत होइन तर यो यात्रामा हामीले कहिलेकाही हामी आफैले आफैलाई  सोध्नुपर्छ हामी भविष्य बनाउन खोज्दा वर्तमान त गुमाइरहेका छैनौ  ?

आज हाम्रो समाजमा सफलता पनि विस्तारै प्रदर्शनको विषय बन्दै गएको छ । कसको घर ठुला छन् , कसको गाडी राम्रो छ, कसको जागिर ठूलो छ, छोराछोरी कहाँ पढ्छन्, को को विदेशमा छ यी कुराले मानिसको सामाजिक हैसियत निर्धारण गर्न थालेका छन् । सामाजिक सञ्जालले यसलाई अझ तीव्र बनाएको छ । हामी आफ्नो जीवन बाचिरहेका मात्र छैनौ अरूलाई आफ्नो जीवन देखाइरहेका पनि छौ ।

 तर जीवनको मूल्य अरूले देखेको कुराले निर्धारण हुन्छ र ?

कहिलेकाही पदमा बसेको मानिसलाई पदले नै आफ्नो परिचय दिएको हुन्छ पद गएपछि उसलाई आफू कमजोर भएको जस्तो लाग्छ । धेरै सम्पत्ति भएको मानिसलाई सम्पत्तिले आत्मविश्वास दिएको हुन्छ तर सम्पत्ति घट्दा ऊ असुरक्षित हुन्छ । प्रशंसामा मात्रै  बाच्ने मानिस आलोचना सहन सक्दैन । यसको अर्थ हामीले बाहिरी उपलब्धिलाई आफ्नो अस्तित्वसँग जोडिसकेका छौ ।

सायद मानिसको मृत्युको डर केवल मर्ने डर होइन म गएपछि मलाई कसले सम्झन्छ ? भन्ने डर पनि हो ।

त्यसैले हामी केही छोडेर जान चाहन्छौ । घर, सम्पत्ति, संस्था, व्यवसाय, विचार, सन्तान वा कुनै राम्रो काम । यसमा नराम्रो केही छैन । मानिसले आफूभन्दा परको पुस्ताका लागि केही गर्नु नै सभ्यताको आधार हो । तर प्रश्न यति हो त्यो केही छोड्ने क्रममा हामीले आफ्नो आज कति गुमायौ ?

हामीमध्ये धेरैले भन्छौ अहिले मेहनत गर्छु, पछि आराम गर्छु । अहिले पैसा कमाउँछु, पछि परिवारसँग समय बिताउँछु । अहिले भविष्य बनाउँछु, पछि जीवनको आनन्द लिन्छु ।

तर पछि कहिले आउँछ थाह छैन ?

हामीले देख्दादेख्दै हाम्रा बाबुआमा बूढा हुन्छन् , छोराछोरी ठूला हुन्छन् , साथीहरू टाढिन्छन् , गाउँका पुराना अनुहारहरू हराउँदै जान्छन् , हिजो सँगै खेतमा काम गरेका मानिस आज संसारमा हुँदैनन् , हिजो आँगनमा खेलिरहेका बालबालिका आज आफ्नै जीवनको दौडमा हुन्छन् । समय कसैलाई पर्खीदैन ।

त्यसैले मृत्यु सम्झनु जीवनलाई निराश बनाउनु होइन । बरु यसले जीवनलाई प्राथमिकता दिन सिकाउँछ । मृत्यु निश्चित छ भन्ने थाहा भएपछि सायद हामी अनावश्यक रिस कम गर्न सक्छौ । सम्बन्धमा अलि बढी माया दिन सक्छौ । आमाबाबुसँग केही समय बढी बस्न सक्छौ । साथीलाई फोन गर्न सक्छौ । कसैसँग गल्ती भएको छ भने माफी माग्न सक्छौ । पद र पैसाको दौडमा हराएको आफ्नो मनलाई फेरि भेट्न सक्छौ ।

हामी सबैलाई अन्ततः जानु छ । कुनै दिन हाम्रो नाम बोलाउने मानिसहरू कम हुँदै जानेछन्, हाम्रो कुर्सीमा अर्को मानिस बस्नेछ, हामीले जोडेको सम्पत्ति अर्को पुस्ताको हुनेछ । समयसँगै हाम्रो परिचय पनि धमिलो हुँदै जानेछ तर त्यसअघि हामीले कसैको जीवनमा छोडेको न्यानोपन, दिएको अवसर, कठिन समयमा दिएको साथ र बाँडेको प्रेम भने केही मनमा बाँकी रहन सक्छ।

सायद जीवनको वास्तविक अर्थ यही हो। हामी कति लामो समय बाँच्छौ  भन्नेभन्दा, हामीसँग भएको समय कसरी बाँच्छौ भन्ने कुरा ठूलो हो । भविष्य बनाउनुपर्छ, तर त्यसका लागि वर्तमान गुमाउनु हुदैन । धन कमाउनुपर्छ, तर सम्बन्धलाई गरिब बनाएर होइन । सफल हुनुपर्छ, तर सफलता खोज्दाखोज्दै आफूलाई नै हराएर होइन ।

मृत्युले एक दिन हामीबाट सबै कुरा खोस्नेछ तर मृत्यु आउनुअघि हामीसँग एउटा अमूल्य स्वतन्त्रता अझै बाँकी छ कस्तो जीवन बाँच्ने भन्ने निर्णय गर्ने स्वतन्त्रता त्यसैले कहिलेकाही आफ्नो दौड रोकौ । आफूलाई सोधौ म केका लागि यति दौडिरहेको छु ? मैले खोजिरहेको कुरा साच्चिकै मेरो आवश्यकता हो कि समाजले म माथि थोपरिदिएको अपेक्षा ? र यदि आजै जीवनको अन्तिम दिन भयो भने, मैले आज जसरी बाँचिरहेको छु, के त्यसैलाई आफ्नो जीवन भन्न सकूँला ? सायद मृत्युको स्मरणले दिने सबैभन्दा ठूलो शिक्षा यही हो जीवन अन्त्य हुने भएकैले बहुमूल्य छ।

अन्ततः हामीले संसारलाई जितेर जाने होइनौ । हामीले आफ्नो समय कसरी बाँड्यौ, कसलाई माया गर्यौ, कसलाई उठायौ र कस्तो सम्झना छोड्यौ सायद हाम्रो जीवनको हिसाब त्यही हुनेछ। मृत्यु निश्चित छ तर त्यसअघि जीवनलाई अर्थ दिने जिम्मेवारी हाम्रो आफ्नै हो।

 

 

Comments

Popular posts from this blog

लघुवित्तको अबको बाटो इम्प्याक्टफुल बिजनेस ।

जीवनको बिरालो र मोहको जञ्जाल

अहंकारको मूल्य र प्रकृतिको न्याय