अन्तिम सत्यःहामी यहाँ सधैँका लागि होइनौ ।
जब
मानिसलाई आफू मर्ने कुरा थाहा हुन्छ त्यसैले ऊ आफ्नो अस्तित्वलाई कुनै न कुनै
रूपमा आफूभन्दा लामो बनाउन खोज्छ । कसैले सम्पत्ति जोड्छ, कसैले नाम कमाउँछ, कसैले पद र प्रतिष्ठा खोज्छ, कसैले आफ्ना छोराछोरीको
सफलतामा आफ्नो निरन्तरता देख्छ । मानिसको यो चाहना अस्वाभाविक होइन तर कहिलेकाही
यही चाहनाले जीवनको वास्तविक आनन्दलाई पछाडि धकेलिदिन्छ ।
हाम्रो
गाउँघरमा हेर्ने हो भने एउटा पुस्ताले जीवनभर दुःख गरेर घर बनाउँछ । खेतमा पसिना
बगाउँछ, छोराछोरी
पढाउँछ, उनीहरूको भविष्य राम्रो होस् भनेर आफ्ना धेरै इच्छा
त्याग्छ । बुढेसकालमा पुग्दा उसको सबैभन्दा ठूलो सम्पत्ति त्यही घर र परिवार हुन्छ
तर अर्को पुस्ता फेरि त्यही घर छोडेर शहर वा विदेशतिर लाग्छ । राम्रो अवसर खोज्नु
गलत होइन तर यो यात्रामा हामीले कहिलेकाही हामी आफैले आफैलाई सोध्नुपर्छ
हामी भविष्य बनाउन खोज्दा वर्तमान त गुमाइरहेका छैनौ ?
आज
हाम्रो समाजमा सफलता पनि विस्तारै प्रदर्शनको विषय बन्दै गएको छ । कसको घर ठुला
छन् , कसको
गाडी राम्रो छ, कसको जागिर ठूलो छ, छोराछोरी
कहाँ पढ्छन्, को को विदेशमा छ यी कुराले मानिसको सामाजिक
हैसियत निर्धारण गर्न थालेका छन् । सामाजिक सञ्जालले यसलाई अझ तीव्र बनाएको छ ।
हामी आफ्नो जीवन बाचिरहेका मात्र छैनौ अरूलाई आफ्नो जीवन देखाइरहेका पनि छौ ।
तर
जीवनको मूल्य अरूले देखेको कुराले निर्धारण हुन्छ र ?
कहिलेकाही पदमा बसेको मानिसलाई पदले नै आफ्नो परिचय दिएको हुन्छ पद गएपछि उसलाई आफू कमजोर भएको जस्तो लाग्छ । धेरै सम्पत्ति भएको मानिसलाई सम्पत्तिले आत्मविश्वास दिएको हुन्छ तर सम्पत्ति घट्दा ऊ असुरक्षित हुन्छ । प्रशंसामा मात्रै बाच्ने मानिस आलोचना सहन सक्दैन । यसको अर्थ हामीले बाहिरी उपलब्धिलाई आफ्नो अस्तित्वसँग जोडिसकेका छौ ।
सायद
मानिसको मृत्युको डर केवल मर्ने डर होइन म गएपछि मलाई कसले सम्झन्छ ? भन्ने डर पनि हो ।
त्यसैले
हामी केही छोडेर जान चाहन्छौ । घर, सम्पत्ति, संस्था, व्यवसाय, विचार, सन्तान वा
कुनै राम्रो काम । यसमा नराम्रो केही छैन । मानिसले आफूभन्दा परको पुस्ताका लागि
केही गर्नु नै सभ्यताको आधार हो । तर प्रश्न यति हो त्यो केही छोड्ने क्रममा
हामीले आफ्नो आज कति गुमायौ ?
हामीमध्ये
धेरैले भन्छौ अहिले मेहनत गर्छु, पछि आराम गर्छु । अहिले पैसा कमाउँछु, पछि परिवारसँग समय बिताउँछु । अहिले भविष्य बनाउँछु, पछि जीवनको आनन्द लिन्छु ।
तर
पछि कहिले आउँछ थाह छैन ?
हामीले
देख्दादेख्दै हाम्रा बाबुआमा बूढा हुन्छन् , छोराछोरी ठूला हुन्छन् ,
साथीहरू टाढिन्छन् , गाउँका पुराना अनुहारहरू हराउँदै
जान्छन् , हिजो सँगै खेतमा काम गरेका मानिस आज संसारमा
हुँदैनन् , हिजो आँगनमा खेलिरहेका बालबालिका आज आफ्नै जीवनको
दौडमा हुन्छन् । समय कसैलाई पर्खीदैन ।
त्यसैले
मृत्यु सम्झनु जीवनलाई निराश बनाउनु होइन । बरु यसले जीवनलाई प्राथमिकता दिन
सिकाउँछ । मृत्यु निश्चित छ भन्ने थाहा भएपछि सायद हामी अनावश्यक रिस कम गर्न
सक्छौ । सम्बन्धमा अलि बढी माया दिन सक्छौ । आमाबाबुसँग केही समय बढी बस्न सक्छौ ।
साथीलाई फोन गर्न सक्छौ । कसैसँग गल्ती भएको छ भने माफी माग्न सक्छौ । पद र पैसाको
दौडमा हराएको आफ्नो मनलाई फेरि भेट्न सक्छौ ।
हामी
सबैलाई अन्ततः जानु छ । कुनै दिन हाम्रो नाम बोलाउने मानिसहरू कम हुँदै जानेछन्, हाम्रो कुर्सीमा अर्को मानिस
बस्नेछ, हामीले जोडेको सम्पत्ति अर्को पुस्ताको हुनेछ ।
समयसँगै हाम्रो परिचय पनि धमिलो हुँदै जानेछ तर त्यसअघि हामीले कसैको जीवनमा
छोडेको न्यानोपन, दिएको अवसर, कठिन
समयमा दिएको साथ र बाँडेको प्रेम भने केही मनमा बाँकी रहन सक्छ।
सायद जीवनको वास्तविक अर्थ यही हो। हामी कति लामो समय बाँच्छौ भन्नेभन्दा, हामीसँग भएको समय कसरी बाँच्छौ भन्ने कुरा ठूलो हो । भविष्य बनाउनुपर्छ, तर त्यसका लागि वर्तमान गुमाउनु हुदैन । धन कमाउनुपर्छ, तर सम्बन्धलाई गरिब बनाएर होइन । सफल हुनुपर्छ, तर सफलता खोज्दाखोज्दै आफूलाई नै हराएर होइन ।
मृत्युले
एक दिन हामीबाट सबै कुरा खोस्नेछ तर मृत्यु आउनुअघि हामीसँग एउटा अमूल्य
स्वतन्त्रता अझै बाँकी छ कस्तो जीवन बाँच्ने भन्ने निर्णय गर्ने स्वतन्त्रता
त्यसैले कहिलेकाही आफ्नो दौड रोकौ । आफूलाई सोधौ म केका लागि यति दौडिरहेको छु ? मैले खोजिरहेको कुरा साच्चिकै
मेरो आवश्यकता हो कि समाजले म माथि थोपरिदिएको अपेक्षा ? र
यदि आजै जीवनको अन्तिम दिन भयो भने, मैले आज जसरी बाँचिरहेको
छु, के त्यसैलाई आफ्नो जीवन भन्न सकूँला ? सायद मृत्युको स्मरणले दिने सबैभन्दा ठूलो शिक्षा यही हो जीवन अन्त्य हुने
भएकैले बहुमूल्य छ।
अन्ततः
हामीले संसारलाई जितेर जाने होइनौ । हामीले आफ्नो समय कसरी बाँड्यौ, कसलाई माया गर्यौ, कसलाई उठायौ र कस्तो सम्झना छोड्यौ सायद हाम्रो जीवनको हिसाब त्यही हुनेछ।
मृत्यु निश्चित छ तर त्यसअघि जीवनलाई अर्थ दिने जिम्मेवारी हाम्रो आफ्नै हो।

Comments
Post a Comment