अहंकारको मूल्य र प्रकृतिको न्याय

 



  प्रकृतिको आफ्नो एउटा सुन्दर नियम छ जहाँ प्रत्येक प्राणीको आफ्नै अस्तित्व छ, आफ्नै भूमिका छ तर जब मानिसले आफ्नो अहङ्कारको रापमा परेर प्रकृतिको त्यो कोमल सन्तुलनलाई भत्काउन खोज्छ तब नियतिले नसोचेको मूल्य चुकाउन बाध्य हुनुपर्दछ । सन् १९५८ को चीनको त्यो अध्याय अझै पनि इतिहासको एउटा पीडादायी आँसु बनेर उभिएको छ। जब चिनमा भँगेरा हरूलाई त्यहा वाट निर्मुल पार्न लगाईयो तब चिनियाँ आकाशबाट चहकिला र अबोध ती पन्छी सदाका लागि हराए। 

निलो आकाश अब शान्त मात्र होइन, सुनसान भयो—जहाँ पहिले चिरबिरले जीवनको ताल दिन्थ्यो, त्यहाँ अब मौनताले डेरा जमायो। मानौं, त्यो धर्तीले आफ्नै स्वर गुमायो, आफ्नै गीत हरायो।

तर, केही समयपछि नै धर्तीले त्यो गल्तीको सजाय सुनाउन थाल्यो । भँगेराहरू जो अन्नको सुरक्षाका लागि सिपाही बनेर खटिएका थिए जब तिनको रगतले माटो भिजेको थियो तब बाली खाने किराहरूले आफ्नो साम्राज्य फैलाए। फाँटहरूमा सुनौलो धानको सट्टा अनिकालको कालो बादल मडारियो। त्यही भँगेरा जसलाई निर्मुल बनाउदा मानिसहरूले उत्सव मनाएका थिए समयको अन्तरालमा  तिनकै अभावमा मानिसहरू भोकभोकै तड्पिन थाले सायद प्रकृतिको न्याय यस्तै हुन्छ जब हामी निर्दोषलाई दण्ड दिन्छौँ  तब नियतिले हामीलाई नै सबैभन्दा ठूलो दण्ड दिन्छ

यो केवल एउटा चराको कथा होइन, यो 'अहङ्कार' 'अज्ञानता' ले मानिसलाई कहाँसम्म पुर्‍याउँछ भन्ने एउटा शिक्षा हो। एउटा शासकको अगाडि नतमस्तक हुने त्यो भीड, जसले सत्य जान्दाजान्दै पनि मौन रहनुपर्दाको पीडा कस्तो हुन्छ, त्यो कल्पना गर्न पनि सकिँदैन। कति बालबालिकाहरूले भोकले आमाको काखमा प्राण त्यागे होलान्,कति पिताहरूले आफ्नै सन्तानलाई बचाउन नसक्दाको छटपटीमा रात बिताए होलान् एउटा सानो जीवलाई घृणा गर्ने त्यो सानो सोचले कति ठूलो मानवीय क्षति निम्त्यायो।

अहंकारको पर्खाल भत्काएर, प्रेम र विनम्रताको बाटो समात्यौँ भने मात्रै हाम्रो जिन्दगीको खेतबारीमा खुशीको सुनौलो बालाहरु झुल्न सक्छ । प्रकृति जत्तिकै उदार र सरल हुन सक्यौँ भने मात्रै हाम्रो अस्तित्व सुरक्षित हुन्छ । साँचो अर्थमा जीवन भनेको आफूलाई अग्लो बनाउनु होइन, बरु अरूसँगै मिलेर मुस्कुराउनु हो । जब हामी पद, प्रतिष्ठा वा शक्तिको उन्मादमा अरूलाई सानो देख्न थाल्छौँ  तब हामी आफैँले आफ्नो खुसीको ढोका बन्द गरिरहेका हुन्छौँ । प्रकृतिको त्यो मौन भाषाले हामीलाई यही सिकाउँछ कि—फूलले आफ्नो सुगन्ध बाँड्न कुनै सर्त राख्दैन, नदीले आफ्नो शीतल जल कुनै भेद नगरी सबैलाई पिलाउँछ, जसरी धर्तीले सारा संसारको भार र पाइलाहरूलाई चुपचाप सहेर पनि हामीलाई अन्न र आश्रय दिन्छिन्, यदि हामीले पनि आफ्नो हृदयमा यस्तै निस्वार्थ प्रेम र करुणाको बीउ रोप्न सक्यौँ भने, त्यसले दिने फल कहिल्यै तितो हुँदैन

हामीले बिर्सनु हुँदैन कि यो धर्ती हामीले कसैबाट पाएको उपहार होइन, बरु हाम्रा सन्ततिका लागि हामीले जोगाएर राख्नुपर्ने एउटा धरोहर हो। त्यसैले, जतिसुकै माथि पुगे पनि आफ्नो जरालाई नबिर्सनु र जतिसुकै शक्तिशाली भए पनि अरूको संवेदनालाई बुझ्नु नै मानवताको उच्चतम बिन्दु हो। हामीले आज छरेको नम्रताको एक थोपा प्रेमले भोलि सिंगो समाजमा शान्तिको सुवास फैलाउनेछ । आउनुहोस्, हामी सबै मिलेर यस्तो समाजको परिकल्पना गरौँ जहाँ अहंकारको ठाउँमा विश्वासले र कलहको ठाउँमा संवादले स्थान पाओस । किनकि अन्त्यमा हामीले कमाएको धन वा नाम होइन  अरूको हृदयमा छोडेको प्रेम र आदर नै हाम्रो वास्तविक पहिचान बनेर रहनेछ

एउटा सानो भँगेराले त आफ्नो सानो गुँड र परिवार जोगाउन दिनभरि सङ्घर्ष गर्छ भने, चेतनाले भरिपूर्ण मानिस भएर हामीले अरूको संसारमा रङ भर्न नसक्ने भन्ने त हुँदै होइन तर विडम्बना हामीले आफूलाई 'सर्वश्रेष्ठ' ठान्ने अहङ्कारको यस्तो ठूलो पर्खाल खडा गरेका छौँ कि, त्यसको आडमा उभिएर हामीले अर्काको आँसु देख्न पनि छोडिसकेका छौँ  

आर.आर हरिकृष्ण जोशी 

Comments

Post a Comment

Popular posts from this blog

जे हुन्छ राम्रो को लागी हुन्छ ।

विकल्प होइन समर्थक बन्छन मात्रै राम्रो काम गर्नुस ।