स्क्रिनको कृत्रिम हाँसो र रित्तिँदै गएको मन ।

 


आर.आर हरिकृष्ण जोशी

अभाव र प्रगतिको यो आधुनिक दौडधुपमा हामी बाहिरबाट जति सुखी र खुसी देखिने कृत्रिम प्रयास गरिरहेका छौँ भित्रभित्रै त्यति नै एक्लो, अशान्त र मानसिक तनावको गहिरो दलदलमा भासिँदै गएका छौँ । अनौठो त के छ भने, हातहरूमा भौतिक सुख–सुविधा र विलासिताका नयाँ–नयाँ साधनहरू थपिँदै जाँदा पनि मनको त्यो पुरानो सन्तोष, शान्ति र निश्चल हाँसो बिस्तारै गुम्दै गएको छ । आखिर किन हामीहरु आफूसँग भएका अथाहा र अमूल्य खुसीहरूलाई चटक्कै बिर्सिएर निरन्तर निराशाको अँध्यारो कोठामा खुम्चँदै गइरहेका छौँ त ? 

मनोवैज्ञानिकहरूका अनुसार मानिसको दुःखको सबैभन्दा ठूलो कारण नै अरु संग तुलना गर्ने बानी हो । हामी अरूको प्रगतिको चम्किलो र सानदार ग्राफ हेरेर आफ्नो जीवनको सुन्दर बोटलाई आफैँ ओइल्याइरहेका छौँ । विशेषगरी आजको यो भर्चुअल र डिजिटल युगमा त यो समस्या झनै भयावह र पीडादायी बनेर आएको छ । हामी सामाजिक सञ्जालको स्क्रिनमा अरूले पोस्ट गरेका उज्याला, छानिएका र रङ्गीन तस्बिरहरू हेर्छौँ र त्यसकै आधारमा आफ्नो जिन्दगीको भोगाईहरुलाई जोख्न थाल्छौ । कसैको महँगो गाडी, कसैको रोमान्टिक घुमफिर त कसैको सुखी परिवारको त्यो डिजिटल रूप देख्दा हामी भित्रभित्रै हीनताबोधको आगोमा जलिरहेका हुन्छौ  तर हामी सहजै भुल्छौँ कि हरेक मानिसको जीवनमा आफ्नै खालका संघर्ष, पीडा र आँसुका कथाहरू लुकेका हुन्छन्, जुन त्यो अरुलाई कहिल्यै देखाइँदैन । स्क्रिनमा देखिने त्यो कृत्रिम हाँसो र चमक धमक भित्र कति रातका छटपटी, एक्लोपन र रोदनका सुस्केराहरू लुकेका हुन्छन् भन्ने कुरा बाहिर बसेर कसैले आकलन नै गर्नै सक्दैन ।

कहिलेकाहीँ आफ्नै दुःखको भारीले थिचिदा हामीलाई लाग्न सक्छ कि संसारकै सबैभन्दा बढी पीडा मेरै भागमा परेको छ र यो निष्ठुरी भाग्यले मलाई मात्र ठगेको छ । तर जीवनको यथार्थ निकै फरक, गहिरो र आँखै खोलिदिने खालको छ । एउटा सुन्दर कल्पना गरौँ, यदि हामीले सबै मानिसका दुःखहरूलाई ल्याएर एउटै चौतारीमा थुपार्यौँ र सबैलाई आफ्नो दुःख आफैँ रोज भनेर छुट दियौँ भने, पक्कै पनि हामी प्रत्येकले अरूको भन्दा आफ्नै दुःख धेरै सजिलो मानेर निकै जतनका साथ आफ्नै पोको बोकी मुस्कुराउँदै घर फर्किनेछौँ । जब हामी आफ्नो संकुचीत घेराभन्दा बाहिर निस्किएर समाजलाई अलि गहिरिएर र करुणाभावले नियाल्छौ तब मात्र थाहा पाउँछौँ कि यहाँ कोही गम्भीर रोगसँग अस्पतालको चिसो बेडमा छटपटाउँदै जीवनको भीख मागिरहेका छन्, कोही दुई छाक टार्नका लागि जेठको टन्टलापुर घाममा आफ्नै पसिनामा डुबिरहेका छन् त कोही सम्बन्धहरूको विच्छेदले मनभित्रै क्षतविक्षत भएका छन् । उनीहरूको त्यो कारुणिक अवस्थालाई हेरेर आफ्नै जीवन नियाल्ने हो भने हामी कति धेरै सुरक्षित, स्वस्थ र भाग्यमानी छौँ भन्ने चेत खुल्छ र ओठहरू ईश्वरप्रति कृतज्ञताले भरिन्छन् ।

जिन्दगी वास्तवमा एउटा छोटो तर अत्यन्त सुन्दर र अद्भुत यात्रा हो । यहाँ कोही पनि सधैँका लागि अमर भएर वा सबैथोक कमाएर बस्न आएको होइन । यो शाश्वत सत्यलाई मनैदेखि आत्मसात् गर्ने बित्तिकै मनको आधाभन्दा बढी बोझ आफैँ हल्का भएर जान्छ । जीवन सधैँ हामीले कोरेको रेखा र सोचेको योजनाअनुसार मात्र चल्दैनन् सुख–दुःखको तीव्र उतारचढाव त यसको अकाट्य र सुन्दर नियम नै हो । समस्या र चुनौतीहरू त जीवनका ती रङहरू हुन्, जसले हाम्रो आत्मालाई अझ परिपक्व, सहनशील र बलियो बनाउँछन् । जसरी रातको घोर अँध्यारो विना बिहानीको पहिलो उज्यालोको कुनै मूल्य हुँदैन, त्यसैगरी दुःखको ताप र रापविना सुखको शीतल अनूभूति पनि मिठो हुन सक्दैन त्यसैले, दैनिक जीवनका सानातिना उल्झन र मनमा लागेका चिन्ताका चाङहरूलाई केही समयका लागि हावामै उडाइदिनुहोस् । आफूसँग जे छ, जस्तो अवस्थामा छ, त्यसैलाई अमूल्य सम्झिएर रमाउन सिक्नुहोस् । 

अन्त्यमा, तपाईँ आज जुनसुकै अवस्थामा हुनुहुन्छ र जस्तोसुकै कठिन परिस्थितिको सामना गरिरहनुभएको भए पनि भाग्यलाई धिक्कार्न र समयसँग गुनासो गर्न आजैदेखि छाडिदिनुहोस् । किनकि, तपाईँले सहजै डोराइरहनु भएको यो सामान्य र सोझो जिन्दगी पनि कतिपयका लागि एउटा अधुरो र कहिल्यै पूरा नहुने सपना मात्र भइरहेको हुन सक्छ । तपाईँसँग आज जुन स्वस्थ्य शरीर र माया गर्ने प्यारो परिवार छ, त्यो कतिपय अनाथ, असहाय र सडकका मानिसका लागि जीवनभरको सबैभन्दा ठूलो तिर्सना मात्र बनिरहेको हुन सक्छ । भोलिको गर्भमा के लुकेको छ कसैलाई थाहा छैन तर आजको यो सुन्दर दिन त पूर्ण रूपमा हाम्रो हातमा छ । त्यसैल चिन्ताको तिखो काँढालाई पन्छाएर ओठहरूमा हाँसोको रैथाने सुनाखरी फुलाऔ । जीवन साँच्चै नै एउटा अनुपम उपहार हो यसलाई हृदयको गहिराइबाटै प्रेमको श्वास भरेर स्वागत गरौँ र हरेक पललाई खुसीको उत्सव जस्तै जिएर अमर बनाऔँ ।


Comments

Popular posts from this blog

लघुवित्तको अबको बाटो इम्प्याक्टफुल बिजनेस ।

जीवनको बिरालो र मोहको जञ्जाल

अहंकारको मूल्य र प्रकृतिको न्याय