हामी प्रायः जीवनमा सफल हुन प्रतिभा, पैसा वा अवसर चाहिन्छ भन्ने सोच्छौँ । तर संसारका धेरै सफल मानिसका कथा नियाल्दा एउटा साझा कुरा भेटिन्छ: उनीहरूको सोच्ने तरिका, अर्थात् मानसिकता । एउटै परिस्थितिमा दुई जना व्यक्तिले फरक नतिजा पाउनुको मुख्य कारण प्रायः सोचाइकै भिन्नता हुन्छ । एउटाले बाटो देख्छ, अर्कोले पर्खाल मात्र देख्छ, जबकि दुवै उही ठाउँमा उभिएका हुन्छन् ।

मानसिकता भनेको हामीले आफ्ना क्षमता, असफलता, चुनौती र भविष्यबारे राख्ने आधारभूत धारणा हो । यो हाम्रो भित्री चस्मा जस्तै हो । चस्माको रङ जस्तो हुन्छ, संसार पनि त्यस्तै देखिन्छ । हामी आफूले देखेको संसारलाई सत्य ठान्छौँ, तर वास्तवमा त्यो हाम्रो सोचाइले रङ्ग्याएको तस्बिर मात्र हो । यही कारण सोचाइ बदल्न सके संसार हेर्ने नजर पनि बदलिन्छ।

सोचाइको चस्मा: जीवन बदल्ने मानसिकता

अमेरिकी मनोवैज्ञानिक क्यारोल ड्वेकले मानसिकतालाई दुई भागमा बुझाएकी छन्: स्थिर मानसिकता र विकासशील मानसिकता । स्थिर मानसिकता भएका व्यक्तिले आफ्नो बुद्धि र क्षमता जन्मजात हुन्, यिनलाई बदल्न सकिँदैन भन्ने ठान्छन् । त्यसैले उनीहरू असफलताबाट डराउँछन्, अरूले के भन्लान् भन्ने चिन्तामा नयाँ काम सुरु गर्नै हिचकिचाउँछन् । विकासशील मानसिकता भएकाहरू भने प्रयास, अभ्यास र सिकाइबाट क्षमता बढाउन सकिन्छ भन्ने विश्वास गर्छन् र उनीहरूका लागि असफलता अन्त्य होइन, अर्को पाइलाको पाठ हो।

यो भिन्नता सबैभन्दा स्पष्ट असफलताको घडीमा देखिन्छ । परीक्षामा कम अंक आउँदा एक विद्यार्थी म त पढ्नै सक्दिनँ भनेर निराश हुन्छ र किताबबाटै टाढा हुँदै जान्छ । अर्को विद्यार्थी कहाँ चुक्यो, अर्को पटक कसरी सुधार्ने ? भनेर आफैँलाई प्रश्न गर्छ । दुवैसँग बराबर क्षमता भए पनि दोस्रोले आगामी दिनमा बढी प्रगति गर्छ, किनकि उसले हारलाई निर्णय होइन, सूचना ठान्यो । थोमस एडिसनले बिजुलीको बत्ती बनाउन सयौँ पटक असफल प्रयोग गरे, तर उनले यसलाई असफलता नमानी काम नगर्ने उपाय पत्ता लगाएको भने भनिन्छ । हाम्रै समाजमा पनि शून्यबाट सुरु गरेर आफ्नो मेहनत र धैर्यले व्यवसाय, खेलकुद, कला र सेवा क्षेत्रमा नाम कमाएका धेरै प्रेरणादायी उदाहरण छन् । उनीहरूको साझा विशेषता विपरीत परिस्थितिमा पनि म गर्न सक्छु, सिक्दै जान्छु भन्ने सोच नै हो ।

सकारात्मक मानसिकताले कामको नतिजामा मात्र होइन, स्वास्थ्य र सम्बन्धमा समेत प्रभाव पार्छ । आफ्नो क्षमतामा विश्वास भएको व्यक्तिले चुनौती देख्दा भाग्दैन, सामना गर्छ, र यही सामनाले उसको आत्मविश्वास झन् बलियो बनाउँछ । समस्यालाई अवसरका रूपमा हेर्न सके चिन्ता र निराशा पनि घट्छ जसले मन हल्का राख्न र निर्णय स्पष्ट गर्न सघाउँछ । सिक्न चाहने र आलोचना सुन्न तयार व्यक्तिसँग काम गर्न सबैलाई सजिलो लाग्छ, त्यसैले यस्तो सोचले सम्बन्ध पनि मीठो बनाउँछ । अझ महत्त्वपूर्ण कुरा, ठूला सफलता एकै दिनमा आउँदैनन् । विकासशील मानसिकताले दैनिक सानो प्रयास गरिरहन प्रेरित गर्छ, र सानै प्रयासको थुप्रोले अन्ततः पहाड खडा गर्छ ।

मानसिकता जन्मजात र अपरिवर्तनीय हुँदैन, अभ्यासले यसलाई बदल्न सकिन्छ । सुरुवात गर्ने सबैभन्दा सरल तरिका आफ्नो भाषा सच्याउनु हो । मैले यो सक्दिनँ भन्नुको सट्टा मैले अहिलेसम्म यो सकेको छैन भन्न थाल्दा सोचाइको दिशा बिस्तारै बदलिन्छ। त्यसपछि नतिजाभन्दा पहिले गरिएको प्रयासको कदर गर्न सिक्नुपर्छ, किनकि प्रयासमाथि हाम्रो नियन्त्रण हुन्छ, नतिजामाथि सधैँ हुँदैन । आलोचना पीडादायी लाग्न सक्छ तर त्यसभित्र सुधारका सूत्र लुकेका हुन्छन्, जसलाई खोज्ने बानीले हामीलाई अरूभन्दा छिटो अघि बढाउँछ । साना लक्ष्य तय गरेर तिनलाई पूरा गर्दै जाँदा आत्मविश्वास आफैँ बन्दै जान्छ । यसैबीच हामी कस्ता मानिससँग समय बिताउँछौँ भन्ने कुराले पनि सोचाइलाई गहिरो असर गर्छ, त्यसैले प्रेरणा दिने र सिक्न चाहने मानिसको सङ्गत रोज्नु बुद्धिमानी हुन्छ ।

यो विषय व्यक्तिमा मात्र सीमित छैन, समाज र शिक्षासँग पनि जोडिएको छ । अभिभावक र शिक्षकले बालबालिकालाई तिमी जन्मजात तेज छौ भन्नुभन्दा तिमीले गरेको मेहनत राम्रो थियो भन्नु बढी लाभदायक हुन्छ । यसले बच्चामा प्रयासको महत्त्व बुझ्ने बानी बसाल्छ र गल्ती गर्न नडराउने आँट दिन्छ । हाम्रो शिक्षा प्रणालीमा पनि अंकभन्दा सिकाइ र सुधारलाई प्राथमिकता दिने संस्कृति विकास गर्न सके युवा पुस्ता बढी सिर्जनशील र आत्मनिर्भर बन्न सक्छ ।

हाम्रो मानसिकता कुनै जादु होइन । सोचेर मात्र सबै कुरा हुन्छ भन्ने पनि होइन, किनकि मेहनत, योजना र निरन्तरताबिना सपना पूरा हुँदैन । सही मानसिकताले ती सबै प्रयासलाई दिशा र ऊर्जा दिन्छ, र कठिन समयमा हार नमानी अघि बढ्ने साहस दिन्छ त्यसैले आजैदेखि आफूलाई प्रश्न गरौँ: म कस्तो चस्माबाट आफ्नो जीवन हेरिरहेको छु ? सोचाइ बदलियो भने कर्म बदलिन्छ, कर्म बदलियो भने नतिजा बदलिन्छ र अन्ततः जीवन नै बदलिन्छ ।