दशैंको टीका लगाउन घर पुग्दा आमाले सबैभन्दा पहिले सोध्ने प्रश्न छोरा, अब के गर्ने सोचेको छौ ? आँगनमा बसेका काका, मामा, छिमेकी सबैका आँखा एकैपटक तिमीतिर सोझिन्छन् । तिमी मुस्कुराएर हेरौला नि भन्छौ, तर भित्रभित्र सोच्छौ, मलाई आफैंलाई थाहा छैन भने के जवाफ दिऊँ ?
हाम्रो समाजमा यो प्रश्न साधारण जिज्ञासा मात्र होइन, एउटा अदृश्य बोझ हो । यो बोझमा बुबाको चाउरी परे को अनुहार छ, जसले छोराछोरीको फिस तिर्न केही जग्गा नै बेचीसक्नुभएको छ, आमाको त्यो मौन आशा छ, जसले आफ्नो गहना साहुकहाँ राखेर छोराको कलेज भर्ना गरिदिएकी थीईन । यस्तै गाउँलेको भनाइ पनि छ, फलानाको छोरा त विदेश गएर घर बनायो भन्ने । यस्तै यस्तै कुराहरुको भारी बोकेर एक जना युवाले सोच्नुपर्नेछ, म के बन्ने ?
घर र समाजका यस्ता कुराहरुले हाम्रा कतिपय भाईबहिनीहरुले आफ्नो मनले के भन्छ भन्ने नसुनी जिबनको बाटो रोज्छन् । कोही इन्जिनियरिङ पढ्छन् किनकि छिमेकीको छोराले पढेको थियो । कोही जसरी पनि विदेश जान्छन् किनकि प्राय साथीहरु त्यतै गईरहेका छन् । कोही काठमाडौँको कोठामा बसेर रातभर जागा रहन्छन्, तर बिहान उठ्दा आफूले के चाहेको हो भन्ने फेरि पनि थाहा हुँदैन । वर्षौपछि कुनै अपरिचित देशको कामदारको डेरामामा बसेर उनीहरू सोच्छन्, के यही जीवन मैले चाहेको थिएँ ?
तर यहाँ एउटा सत्य हामीहरु सबैले बुझ्नैपर्छ । आफ्नो बाटो थाहा नपाउनु कमजोरी होइन । कसैले पनि आमाको गर्भबाटै आफ्नो पेसा लिएर जन्मिएको हुँदैन । मानिस हिँड्दै जाँदा, ठेस खाँदै, सिक्दै र फेरि उठ्दै आफ्नो बाटो चिन्छ । जसलाई आज हामी सफल भन्छौँ, उनीहरूको सुरुआत पनि धेरैजसो अन्योल, सानो चासो र हिम्मतबाटै भएको हुन्छ ।
सोच्नुहोस् त, गाउँको त्यो केटा जसलाई सानैदेखि बिग्रेको रेडियो खोलेर हेर्न मन लाग्थ्यो । परिवारले यसले पढाइमा ध्यान दिँदैन भने तर त्यही चासोले उसलाई मर्मत सिक्न लगायो, मर्मतले इलेक्ट्रोनिक्स बुझ्न लगायो, र आज उही केटा आफ्नै पसल चलाएर अरू चार पाँच जनालाई रोजगारी दिइरहेको छ । उसले कहिल्यै म यही बन्छु भनेर निर्णय गरेको थिएन । उसले त केवल आफूलाई तानेको कुराको पछि लागेको थियो ।
त्यसैले आजको युवाले आफैंलाई सोध्ने प्रश्न बदल्नुपर्छ म जीवनमा के बन्छु ? भन्ने भारी प्रश्नको सट्टा आज मैले के सिक्न सक्छु ? भनेर सोधौ । यो प्रश्नको उत्तर आज नै खोज्न सकिन्छ । एउटा किताब पढ्न सकिन्छ, कुनै सीप सिकाउने दाइसँग बस्न सकिन्छ, इन्टरनेटमा नयाँ विषय खोज्न सकिन्छ, कार्यशाला, तालिम वा सेमिनारमा भाग लिन सकिन्छ । यी साना कदमले नै ठूलो यात्रा बनाउँछन् ।
साथै, अभिभावकले पनि एकछिन सोच्नुपर्छ । तपाईंले आफ्ना सन्तानको लागि जति त्याग गर्नुभयो, त्यो अतुलनीय छ, र त्यो माया सबैले बुझेका छन् तर माया भनेको सन्तानलाई आफ्नो अधुरो सपना बोकाउनु होइन । उनीहरूलाई गल्ती गर्ने, फेरि सुरु गर्ने र आफ्नो गतिमा हिँड्ने ठाउँ दिनु पनि माया हो । छोराछोरीले छिटो सफल हुनुभन्दा सही बाटो फेला पार्नु बढी महत्त्वपूर्ण हो ।
अन्तमा, तिमी जो यो लेख पढिरहेका छौ र अझै अन्योलमा छौ, तिमी एक्लो छैनौ । तिम्रो उमेरका लाखौँ युवा डिग्री बोकेर पनि कुन बाटो रोज्ने भन्ने द्विविधामा छन् । हतार नगर । छिमेकीको छोरासँग आफूलाई तुलना नगर । एक दिन आमाले फेरि सोध्नेछिन्, छोरा अब के गर्ने ? त्यतिबेला तिमीले ठुलो योजनाको जवाफ दिनु पर्दैन, म आफ्नो बाटो खोज्दै हिँड्न थालिसकेको छु भन्न सक्यौ भने त्यही पर्याप्त हुन्छ । कुनै पनि बाटो पहिले नै बनेर बसेको हुँदैन, हिँड्नेहरूले नै त्यसलाई बनाउँछन् ।
