
आजको नेपाली समाजमा धेरै मानिसहरु कुनै ठूलो समस्याका कारण मात्र तनावमा छैनन् ।उनीहरू आफ्नै मनभित्र चलिरहेको निरन्तर संवादका कारण थाकिरहेका छन् । जागिर पाइएला कि नपाइएला, व्यवसाय चल्ला कि नचल्ला, छोराछोरीले राम्रो गर्लान् कि नगर्लान्, समाजले के भन्ला, अरू म भन्दा अगाडि किन पुगे यस्ता अनगिन्ती प्रश्नहरुले हाम्रो मानसिक शान्ति विस्तारै खोसिरहेको छ त्यसैका कारण हामीहरुले समस्या आउनुअघि नै अनाबश्यक पीडा भोगिरहेका छौँ ।
हाम्रो सबैभन्दा ठूलो विडम्बना के छ भने हामी सोच्नुलाई नै समाधान ठानिरहेका छौँ । एउटै कुरा पटक–पटक सोच्दा त्यसको उत्तर नजिक पुगिन्छ भन्ने भ्रममा हुन्छौँ तर सोचाइले जब दिशा गुमाउँछ, त्यही सोचाइ चिन्तामा बदलिन्छ । चिन्ताले सम्भावनाभन्दा खतरा बढी देख्छ, तथ्यभन्दा अनुमानमा बढी विश्वास गर्छ र वास्तविक समस्याभन्दा कल्पनालाई ठूलो बनाउँछ ।
कहिलेकाहीँ घटना सानो हुन्छ, तर त्यसको वरिपरि हामीले बनाएको कथा निकै ठूलो हुन्छ । कसैले फोन गरेन भने हामी सोच्न थाल्छौँ सायद ऊ मसँग रिसाएको छ। कसैले हाम्रो कामको आलोचना गर्यो भने मनले निष्कर्ष निकाल्छ सायद म योग्य छैन । एउटा अवसर गुम्यो भने हामी आफैँलाई भन्न थाल्छौँ अब मेरो समय कहिल्यै आउँदैन होला । घटना एउटा हुन्छ, तर त्यसको व्याख्या बिभिन्न किसिमले गर्छौ । यहीँबाट अनावश्यक सोचाइको यात्रा सुरु हुन्छ ।
सामाजिक सञ्जालले यो समस्या झन् गहिरो बनाएको छ । अरूको सफलता केही सेकेन्डमै हाम्रो मोबाइलको स्क्रिनमा आइपुग्छ । कसैले विदेश पुगेको देखाउँछ, कसैले नयाँ घर, कसैले नयाँ गाडी, कसैले पदोन्नति र कसैले आफ्नो खुसी । हामी उनीहरूको जीवनका केही सुन्दर क्षण हेरेर आफ्नो सम्पूर्ण जीवनसँग तुलना गर्न थाल्छौँ । अनि मनभित्र एउटा अदृश्य प्रश्न जन्मिन्छ म किन पछि परेँ?
युवा पुस्तामा यो दबाब अझ तीव्र छ । पढाइ सकेपछि तुरुन्त जागिर, जागिर पाएपछि राम्रो तलब, त्यसपछि घर, गाडी र सामाजिक प्रतिष्ठा । आफ्नो जीवनको समयतालिकाभन्दा समाजले बनाइदिएको समय तालिकामा हामी दौडिरहेका छौँ । केही ढिला भयो भने आफू असफल भएको महसुस गर्न थाल्छौँ तर जीवन कुनै प्रतियोगिता होइन, जहाँ सबैले एउटै समयमा एउटै ठाउँमा पुग्नुपर्छ । कसैको यात्रा चाँडो हुन्छ, कसैको ढिलो । कसैको बाटो सरल हुन्छ, कसैको घुमाउरो । अरूको गतिलाई आफ्नो जीवनको मापदण्ड बनाउँदा हामी आफ्नो यात्राको अर्थ नै बिर्सन्छौँ त्यसैले मानसिक शान्तिका लागि कहिलेकाहीँ एउटा सामान्य तर शक्तिशाली प्रश्न आफैँलाई सोध्नुपर्छ यो कुरा मेरो नियन्त्रणमा छ कि छैन भन्ने हो ।
यदि नियन्त्रणमा छ भने चिन्ता होइन, कदम चाल्नुपर्छ ।
यदि नियन्त्रणमा छैन भने त्यसलाई स्वीकार गर्न सिक्नुपर्छ ।
अरूले के सोच्ने भन्ने हाम्रो नियन्त्रणमा छैन । भोलि के हुन्छ भन्ने पनि पूर्ण रूपमा हाम्रो हातमा छैन । सबै मानिसले हामीलाई बुझून् पर्छ भन्ने आवश्यक छैन । हरेक निर्णय सही होस् भन्ने पनि हुँदैन । जीवनमा केही कुरा हाम्रो इच्छाविपरीत हुन्छन् तर ती घटनाप्रति हामी कसरी प्रतिक्रिया दिने भन्ने अधिकार अझै हामीसँग हुन्छ ।
शान्त हुनु भनेको समस्या नहुनु होइन । शान्त हुनु भनेको समस्याले आफ्नो सम्पूर्ण मानसिक संसार कब्जा गर्न नदिनु हो । हिजोको गल्तीलाई पाठ बनाऔँ, परिचय होइन । भोलिको योजनालाई प्रेरणा बनाऔँ, डर होइन । अरूको सफलतालाई प्रेरणा बनाऔँ, आफ्नो असफलताको प्रमाण होइन । हामीले हरेक प्रश्नको उत्तर आजै खोज्नुपर्दैन । केही उत्तर समयले दिन्छ । केही घाउ समयले निको पार्छ । केही सम्बन्धहरू समयसँगै स्पष्ट हुन्छन् र केही समस्याहरू हामीले डर मानेजति ठूला हुँदैनन् । त्यसैले कहिलेकाहीँ आफ्नै मनलाई भन्नुपर्छ जे हुनेछ, त्यसको सामना त्यतिबेलै गरौँला । अहिले भने यही क्षणमा बाँचौँ किनकि जीवनको सबैभन्दा दुःखद् कुरा समस्या आउनु मात्र होइन; समस्या आउने डरमा आजको जीवन गुमाउनु हो ।
हामी भविष्यको चिन्तामा आज खर्च गरिरहेका छौँ । विगतको पश्चात्तापमा वर्तमान जलाइरहेका छौँ । अरूको जीवन हेर्दै आफ्नो जीवनप्रति असन्तुष्ट भइरहेका छौँ । अब केहीबेर रोकिएर आफूलाई सोध्ने बेला आएको छ—हामी साँच्चै समस्याले थाकेका हौँ कि आफ्नै सोचाइले? सायद उत्तर त्यहीँ छ । जीवनमा हामीले डराएका धेरै कुरा कहिल्यै घट्ने छैनन् तर तिनको डरमा बिताएका आजका क्षणहरू भने कहिल्यै फर्केर आउने छैनन् । त्यसैले हरेक विचारलाई सत्य ठान्नु आवश्यक छैन, हरेक डरलाई भविष्य ठान्नु आवश्यक छैन । किनकि जीवनलाई सबैभन्दा धेरै थकाउने समस्या होइन, समस्या आउनुअघि नै त्यसको पीडा भोग्ने हाम्रो मन हो ।